काठमाण्डौ, १३ मंसिर । हुन ग़ैरहेको आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई मत माग्दै राष्ट्रिय शिवसेना पार्टीका केन्द्रिय अध्यक्ष लगायतका पदाधिकारीहरुले विभिन्न समूह गठन गरि चुनावी प्रचार प्रसार अभियान तीव्र परेका छन् ।
सोही क्रममा राष्ट्रिय शिव सेना पार्टीका केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमको टोलीले रुपन्देहीको मार्चवार परसवाहा भन्ने ठाउँमा विशाल जनसभाको आयोजना गरि सिपाही चिन्हमा मतदान गर्न जनताहरुमा आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष बमले वर्तमान संविधानको ख़ारेजी गरि अधिराज्य पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाई राष्ट्रिय शिव सेना पार्टी चुनावमा होमिएकोले सबै जनताले देशको रक्षाको जिम्मा सिपाहिलाई लगाउन आग्रह गरे ।
कार्यक्रममा महामन्त्री घनश्याम भण्डारी, लुम्बिनी अंचल अध्यक्ष तथा सहमहामन्त्री थम्मन बस्नेत, केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष रमेश शर्मा, के.स. दिप सिंह, कपिलवस्तु जिल्ला अध्यक्ष मिथिलेश चौधरी, नवलपरासी जिल्ला अध्यक्ष राजू चौधरी तथा मार्चवार क्षेत्रबाट प्रदेश सभाका उम्मेदवारी केशव तिवारी (बाबा)लगायत स्थानीय जनताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम पश्चात चन्द्रसूर्य क़ुरा गर्दै पार्टीका केन्द्रिय अध्यक्ष बमले हिन्दू अधिराज्यको नाममा कमल थापा र राप्रपाले गद्दारी गरेपछि जनताले विकल्प खोजिरहेको समयमा सोही एजेण्डा लिएर चुनावमा आएका पार्टी राष्ट्रिय शिवसेनाको सिपाही चिन्हमा मतदान गर्न जनताहरु उत्साहित भएको दाबी गरे ।